धनगढी
आगामी माग अन्तिम साताबाट धनगढीमा आयोजना हुने विद्यालय स्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता ‘लिटल फ्लावर प्रिमियर लिग ६’ को हस्पिटल पार्टनरका रूपमा सारथि अस्पताल प्रा.लि. धनगढी रहने भएको छ ।  आयोजक लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्टस् र सारथि अस्पताल प्रा.लि. धनगढी बिच आज उक्त सम्झौता भएको हो ।
धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पतालका तर्फबाट सञ्चालक डा. नीरज पन्त र आयोजकका तर्फबाट लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्टस्का अध्यक्ष रामचन्द्र शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा लिटल फ्लावर प्रिमियर लिग(एलपीएल)को छैटौँ संस्करण माघ अन्तिम साताबाट सञ्चालन हुने छ । लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले कोरोना महामारीबाट विश्व नै प्रभावित बनेको भए पनि विद्यालय स्तरका खेलाडीको खेल क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आगामी संस्करणलाई निरन्तरता दिइने बताए ।
‘ग्रास रुटको क्रिकेटलाई चलायमान बनाउन अति जरुरी बनेको हुनाले पनि हामीले आउँदो संस्करणलाई निरन्तरता दिनुपर्ने बाध्यतालाई स्वीकार गरेका हौँ ।’ उनले भने, ‘कोरोनाले आर्थिक क्षेत्र नराम्ररी प्रभावित बनेको त छ नै तर पनि हामीले सुरु गरेको अभियानलाई सकेसम्म ओझेलमा पर्न दिनु हुन्न भनेर यसलाई निरन्तरता दिने प्रयास गरिएको हो ।’
प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमको सहभागिता रहने शाहीले बताए । लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपी सिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफद म्याच, गेम चेन्जर र सर्बाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ
प्रतियोगिताको प्रत्येक खेलका प्लेयर अफ द म्याचको पुरस्कार राशि धनगढीमा रहेको गुरुजी सटिङ्ग एन्ड सुटिङले प्रायोजन गरेको छ । प्रतियोगिताको एजुकेसन पार्टनरको रूपमा कैलालीको लम्कीमा रहेको कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल रहेको छ भने केक पार्टनरको रूपमा आँगन केक्स धनगढी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय